‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार ०६:४२


काठमाडौं, श्रावण १३ ।
व्यवस्थापिका–संसद्को सम्पूर्ण गतिविधिलाई सहज तवरले आम नागरिकमा पुर्‍याउने लक्ष्यअनुरूप संसद् सचिवालयले बिहीबारदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि हिजोदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा मोबाइल एप र वेबसाइटको शुभारम्भ गरेकी छन् ।

मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसद्लाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ ।

संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यू ट्युबाट प्रत्यक्ष प्रशारण गर्ने कार्य सुरु गरिसकेको छ । सभामुख घर्तीमगरले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताएकी छन् । संसद् सचिवालयले प्रत्येक सांसद्लाई एक/एक वटा आईडी उपलब्ध गराउने र सोही आईडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको सोही अवसरमा जानकारी दिइयो ।

जननिर्वाचित संस्थालाई बढी भन्दा बढी पारदर्शी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गराउने र सम्पर्कको माध्यमलाई क्रमशः विस्तार गर्दै लाने लक्ष्यका साथ अगाडि बढिरहेको सभामुख घर्तीमगरले बताइन् ।

उनले भनिन् “सांसद्लाई पनि प्रविधिमैत्री बनाउन र त्यसको अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ नयाँ मोबाइल एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ ।” सभामुख घर्तीमगरले जनताको माग र गुनासो सुन्न तथा सरकारलाई समस्या समाधानका लागि सचेत गराउनसमेत यस्तो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजरूपमा हेर्न पाइने व्यवस्था गरिएको छ ।

उनले नेपालको संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन गर्नैपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै उनले सभामुख घर्तीमगरले संसद्को यही कार्यकालमा संसद्को नयाँ भवन बन्ने सम्भावना नरहे पनि आगामी दिनमा व्यवस्थित र प्रविधिमैत्री संसद् भवनसमेत बन्ने अपेक्षा व्यक्त गरिन् ।

संसद्को आफ्नै भवन नभएकाले भाडामा बस्नुपरेको छ, उनले भनिन्, “संसद्को आफ्नै भवन होस्, आफ्नै टेलिभिजन च्यानल होस्, सांसद्लाई आवास सुविधा होस्, हाम्रो त्यो चाहना पूरा गर्ने पहल पनि भइरहेको छ ।”

सोही अवसरमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत उच्च अधिकारीको सहभागिता थियो ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....