आज शुक्रबार नागपञ्चमी र रक्षा बन्धन मनाइदै

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार १०:११


काठमाडौं, श्रावण १३ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।

यसैगरी प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पनि आजै मनाइँदैछ । श्रावण २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसअघि १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....