पाकिस्तानका प्रधानमन्त्री शरिफ पनामा लिक्स मामिलामा दोषी ठहर, सार्वजनिक पदका लागि अयोग्य

एजेन्सी, श्रावण १३ ।
पाकिस्तानको सार्वेच्च अदालतद्वारा प्रधानमन्त्री नवाज सरिफलाई पनामा लिक्स मामिलामा दोषी ठहर प्रधानमन्त्रीलगायत कुनै पनि सार्वजनिक पदका लागि अयोग्य ठहर भएको छ ।
सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरूसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो ।
‘पनामा पेपर्स’ प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिका बारे छानविन गर्न गठन गरिएको टोलीले गत १० जुलाईमा आफ्नो प्रतिवेदन दिएका थिए । अब यो फैसला पछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्नेछ ।
प्रधानमन्त्री नवाज शरिफले निरन्तर रूपमा आफूले कुनै गलत काम नगरेको दावी गर्दै आएका छन् ।
राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधिशहरू एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद सम्मिलित पांच सदस्यीय बेञ्चले प्रधानमन्त्री विरुद्ध उक्त फैसला सुनाएको हो ।
‘पनामा पेपर्स’ प्रकरणलाई लिएर प्रधानमन्त्रीविरुद्ध उजुरी दायर गर्नेहरू मध्ये विपक्षी पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए ।
प्रतिक्रिया