युवालाई राजनीति बाहिर राखेर समाजवादको परिकल्पना असम्भव : नेता गिरी

प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार १०:५४


नगरकोट, श्रावण २९ ।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीले अबको दिन भनेको युवाको दिन भएको बताउँदै अबको दिनमा पनि युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने नेपालमा कसैले पनि सोचेको जस्तो समाजवादको परिकल्पना हुन नसक्ने बताएको छ ।

समाजवाद अध्ययन केन्द्रले रत्नागिरि रिसोर्ट, कलमसी, नगरकोटमा शनिवार आयोजना गरेको समाजवाद विषयक नेतृत्व विकाससम्बन्धी कार्यशालामा बोल्दै नेता गिरीले आजका युवालाई विदेश पलायन हुने बाटोभन्दा नेपालमा केही गर्ने वातावरण बनाउन सकेमा मात्र सबैले सोचेजस्तो समाजवादको परिकल्पना गर्न सक्ने बताएका छन् ।

केन्द्रले आठारौँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा ‘समाजवादको विकासमा युवा भूमिका’ विषयक एकदिने कार्यशाला गरेको हो ।
यस्तै, नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको सवालमा समाजवाद कस्तो हुनुपर्छ भनेर सोच्ने दिन आएको बताए ।

शिक्षा दिनानुदिन महँगो हुँदै जाने स्वास्थ्यको पहुँच केही सीमित वर्गका हातमा मात्र हुनु र रोजगारीका लागि विदेश पलायन हुन बाध्य गराइने हो भने कुनै पनि हालतमा समाजवादको कल्पना गर्न नसकिने पौडेलले बताए ।

कार्यशालामा डा. नारायणसिंह खत्रीले नीति बनाउने कुरामा अब पनि युवा हावी नहुने हो भने देश बन्न सयौँ वर्ष लाग्ने बताए । कार्यशालामा भाषणकला तथा नेतृत्व विकाससम्बन्धी प्रस्तुति नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालले प्रस्तुति गरेका थिए ।

समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयाँलको अध्यक्षतामा भएको कार्यशालामा नेपाली काँगेसका भक्तपुर र काभ्रेका जिल्ला सभापति क्रमशः दुर्लभ थापा र मधु आचार्यले पनि समाजवादको स्वागतका लागि युवाको भूमिका गहन रहने बताएका थिए ।

कार्यक्रममा भक्तपुर तथा काभे्र जिल्लाका १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ मा रहेर समाजवादका लागि योगदान पु¥याउँदै आएका ११ जनालाई सो अवसरमा सम्मान गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबार वागमतीसहित एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २ । भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान.....