भारत भ्रमणले दुबै देशको सम्बन्धलाई फराकिलो र सुदृढ बनाएको छ : प्रम देउवा

काठमाडौं, भाद्र १२ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्ट रूपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताए ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उनले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढुवा दिने र प्रशारण लाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराए ।
प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, नीजगढ विमानस्थल निर्माण तथा नयाँ एक सय ३२ केभी क्षमताको प्रशारण लाइन निर्माणमा समेत सहमति भएको बताइएको छ ।
कुशाहा कटैया, रक्सौल परवानीपुर प्रशारण लाइनको उद्घाटन गरिएको र आगामी हिउँदमा नेपालको ऊर्जा मागलाई सम्बोधन गर्न मार्ग प्रशस्त गरिएको जानकारी दिँदै उनले भने, ‘आठ वटा विभिन्न विषयमा समझदारी भएको छ ।’
प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रशारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको जानकारी दिए ।
यस्तै माथिल्लो कर्णाली, अरुण तेश्रो जस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उनले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायतका विषयमा समेत सहमति भएको पनि बताएका छन् ।
संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरूको चासो रहनुपर्ने विषय नभएको भन्दै उनले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले मुलुकको आन्तरिक विषयमा आफूले केही पनि उल्लेख नगरेको भन्दै गलत टिप्पणी नगर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरे । उनले भने, ‘नेपालको आन्तरिक विषय र संविधानका बारेमा कुनै पनि सम्झौता हुन सक्दैन, अनावश्यक टिप्पणीको अर्थ रहँदैन ।’
संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास अझै पनि जारी रहेको स्पष्ट पार्दै उनले नेपालको लोकतन्त्र र शान्ति प्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी गराउँदै उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन सफल भएको र त्यसले नेपाललाई दीर्घकालीन रूपमा लाभ प्राप्त हुने बताए ।
प्रतिक्रिया