युवापिढी रोजगारमा, उमेर ढल्केका राजनीतिमा अनि देश…!

– सदिक्षा बिन्दु
देश र जनताको सम्बन्ध सधैँ नङ्ग र मासु सरह भएको खण्डमा मात्र देश विकास हुन्छ तर, जब नङ्ग र मासुको सम्बन्ध पानी र आगो भएपछि देश कहाँ पुग्छ ? त्यसको उदाहरण अहिलेको समय र परिस्थितिले छर्लङ्ग देखाइरहेको छ ।
देशप्रति माया, मोह र प्रतिष्ठा भएर मात्र देश बन्दैन, देश तब बन्छ जब सच्चा मनले देश बनाउन आजका युवापिढीहरू एकजुट भएर लाग्नु पर्छ । तर, यहाँ युवापीढिहरू भन्दा पनि पाका उमेरका व्यक्तिहरू देश विकास गर्नतर्फ उन्मुख भइरहेका छन् । यो अहिलेको मात्र समस्या होइन दशकौँदेखि यो एउटा परम्पराको रूपमा समेत रही आएको हामीले देख्न सक्छौँ ।
देशका ठूलठूला राजनीतिक दलहरूप्रति आँखा तेस्र्याएर हेर्यो भने पनि यो विद्यमान कायमै रहेको छ । देशमा भएको अधिकांश राजनीतिक पार्टीहरूमा हामीले देख्न सक्छौँ, त्यहाँ उमेर ढल्किसकेका व्यक्तिहरू सबै ठूलठूला पदमा बसेर निर्देशन दिँदै देशको बयान गर्दै हिँड्ने अनि सोही पार्टीका कार्यकर्ताहरू जो लक्का जवान छन् उनीहरू सबै हो मा हो मिलाएर ठूलठूला नेताहरूले गरेको भाषणबाजीमा तररर तालि पट्काएर बस्ने गरेका देखिन्छन् ।
जसले गर्दा सबैले भन्ने गरेका छन् देशमा ठीक उल्टो भइरहेको छ । अर्थात अहिलेका युवापिढीहरू प्राय कार्यकर्ता भएर पार्टीको निर्देशनअनुसार काम गर्ने तर, उमेर ढल्किसकेकाहरू जो आराम गरेर बस्ने समयमा देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनु पर्छ भन्दै देश हाँकी रहेका छन् । बाँकी पढे लेखेका, जान्ने बुझ्ने युवापिढीहरू पैसा कमाउन विदेश पलायन हुने गरेका छन् भने अरू उमेर ढल्कन लागेका व्यक्तिहरू समाजसेवामा एकजुट भएर ‘व्यायाम’को काम गर्दै भ्याई नभ्याई काम गरिरहेका छन् । यहाँ यस्तै छ, सामान्य लेखपढ गर्न जान्ने व्यक्तिहरू प्राय जसो राजनीतिमा लागेर ठूला नेताहरूको पुच्छर भएर हिँड्ने गरेका छन् र, पीएचडीको प्रमाण पत्र बोक्दै गरेका अधिकांश शिक्षित युवापिढीहरू विदेश पलायन हुन बाध्य जस्तै भइरहेका छन् तर, राजनीतिको छायाँसम्म पनि पर्न दिँदैन स्वयम् परिवारकै सदस्यहरूले । तर, त्यहीँ व्यक्ति विदेशमा श्रम गर्न जाँदा छाति फुलाएर भन्छन् ‘मेरो देश नेपाल’ । तर, आफ्नै देशमा श्रम गरेर, देशका लागि केहीँ गरौँ भन्ने भावना भने पलाउन सकेका छैनन्, या त चाहँदैनन् । जसका कारण देश विकास गर्न सक्ने प्राय जसो युवापीढिहरू विदेशमा खाई नखाई, सञ्चो बिसञ्चोको कुनै ख्यालै नगरी दिनरात पसिना बगाएर नेपालमा पैसा पठाई रहेका हुन्छन् । तर, नेपालको राजनीतिमा चासो दिँदैन बरु यी देशका नेताहरूले देश डुबाउने भयो भन्दै गाली गर्दै बसेका हुन्छन् ।
अब पुनः संसद् सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गरेको छ । कार्यकर्ताहरूको आवश्यक र महत्व बुझ्दै देशका ठूलठूला राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई हात्ती छाप नोट कार्यकर्तामाथी छरेर पार्टीको काममा खटाउने तयारी पनि विस्तारै सुरु गर्दैछन् । उता, शीर्ष नेताहरू बाहिर कार्यक्रमहरूमा एकले अर्काको नामै काटेर गाली गलौज गर्दै तँ तँ र म म गरे तापनि बेलुका भित्रभित्रै सबै एकै ठाउँमा भेला भएर बियर, ह्विस्की र वाईन गिलास समातेर चियर्स गर्दै मोजमस्ती गरेर बस्दै देश हाँकी रहेका छन् ।
गत स्थानीय निकायको चुनावमा नयाँ युवापिढीढिहरूको सक्रियतामा नयाँ पार्टीको उदायमान भयो तर, उचित परिणाम ल्याउन नसक्दा अहिले नाम निशान देखिँदैन । चुनावमा हार व्यहोरेसँगै यसरी दुलोभित्र लुके सरी लुकेपछि देशको विकास कसरी सम्भव हुन्छ ? के हरेक पार्टी चुनावका लागि भोट भाग्नलाई मात्रै हो ? सो पार्टीले अब चाहीँ केहीँ गर्छ है भन्दै नेपाली जनताले केहीँ आशा गरेका थिए । अब देशका युवाहरूले आँखा खोले अब देशमा केहीँ परिवर्तन हुन्छ भन्ने आशासमेत गरे तर, अहिले पलायमान सरी भइरहेको छ ।
देश यो अवस्थासम्म आइपुग्दा पनि शिक्षित र जोश जाँगर भएका युवापिढीहरू यसरी नै चुप लागेर बस्ने हो भने भोलिका सन्ततिलाई हामीले के जवाफ दिने भन्ने कुरालाई गम्भीर भएर सोच्नु अत्यावश्यक भएको छ । त्यसैले शिक्षित युवापिढीहरू रोजगार सँगसँगै देश विकासमा पनि उन्मुख होऔँ अनि मात्र देशको मुहार फेरिने छ । सायदै यसमा कसैको दुई मत नहोला ।
प्रतिक्रिया