प्रम देउवाको भनाई ‘सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धि’

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार ०६:३६


काठमाडौं, भाद्र १९ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि नै सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेलाको आइतबार उद्घाटन गर्दै उनले मुलुकमा रहेका प्राकृतिक श्रोत साधनलाई समुचित उपयोग गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताए ।

मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको र वैदेशिक लगानी भित्रिने क्रममा रहेको भन्दै उनले प्रचुर सम्भावना रहेको ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा लगानीको अवसर रहेको उल्लेख गरे । उनले देशमा यतिखेर संविधान पूर्ण कार्यान्वयनको प्रक्रियामा रहेको र लगानीको वातावरण बनेको बताए ।

प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसहित सरोकारवालासँग भएको छलफलले व्यापार प्रबद्र्धन र लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकमा राजनीतिक स्थायित्व भई संविधान कार्यान्वयनको चरणमा रहेकाले आर्थिक लगानीको वातावरण बनेको उल्लेख गरेकी छन् ।

उनले नेपाल र भारतका उद्यमी व्यावसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका साथै पश्चिम बंगालका व्यावसायीलाई यहाँ आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

नेपालका लागि भारतीय राजदूताबासका कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७० औँ वर्ष पुगेको अवसरमा दुबै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मेला उपयोगी हुने बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More