तेस्रो चरणको निर्वाचनले मुलुकको एकता र स्वाधीनतालाई बलियो बनाउने : अध्यक्ष दाहाल

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार ११:३९


काठमाडौं, भाद्र २० ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईलाई केन्द्रित गर्न सक्ने शक्ति आफ्नो पार्टी मात्रै भएको दाबी गरेका छन् ।

प्रचण्डले मुलुकमा सामूहिक समृद्धि नै राष्ट्रिय एकताको आधार भएको बताएका हुन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नयाँ नेतृत्वलाई शपथ गराउने र बधाई तथा शुभकामना दिन सोमबार आयोजित कार्यक्रममा उनले आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनले मुलुकको एकता र स्वाधीनतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

उक्त संगठनको नेतृत्व परिवर्तनका लागि विद्यार्थीले प्रतिस्पर्धाको माध्यमलाई आधार बनाएर नयाँ प्रयोग गरेको बताउँदै अध्यक्ष दाहालले, नेतृत्व छनोटका लागि सहमति राम्रो विकल्प भएपनि पार्टीले सहमतिका लागि सहजीकरण मात्र गर्ने भएकाले प्रतिस्पर्धामा जान सुझाएको बताए । थप प्रङ्गग जोड्दै उनले शिक्षा क्षेत्रमा निजीकरणको अन्त्य गरी समाजवादी शिक्षा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

संगठनका पूर्वअध्यक्ष रमेश मल्ल र नरेन्द्र न्यौपानेले शिक्षित बेरोजगार उत्पादन गर्ने केन्द्रका रूपमा विकास भएका शैक्षिक संस्थालाई बन्द गरी उत्पादनसँग शिक्षालाई जोड्नुपर्ने कुरामा जोड दिएका थिए ।

यसैगरि संगठनका अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनमा देखिएका विकृति अन्त्य गरी आफ्नो संस्थालाई शक्तिशाली संगठनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More