सडक निर्माण कार्यमा बहानाबाजी गरी काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरूलाई नेता थापाको चेतावनी

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार १८:३७


काठमाडौं, भाद्र २० ।
पूर्वमन्त्री एवं सांसद गगन थापाले देश विकास निर्माणको काममा सामान्य समस्यालाई बहाना बनाएर ढिलाई गर्ने निर्माण व्यवसायीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को सांसद् कार्यालयले कपनमा गरेको सडक निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सांसद थापाले बहाना नबनाउन र काममा सुधार ल्याउन आग्रह गरेका थिए । उनले सडक निर्माणमा आइपर्ने कुनै पनि समस्या आफूले सम्बन्धित निकायमा पुगेर समाधान गर्ने समेत बताए ।

सांसद् थापाले सबैभन्दा कम मूल्यमा टेन्डर हाल्नेलाई काम गर्न दिने व्यवस्थाले निर्माण व्यवसायीहरू गैरजिम्मेवार भएको अनुभव सुनाउँदै सक्नेभन्दा थोरै मूल्यमा टेन्डर हाल्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

‘टेन्डर हाल्ने बेलामा थोरै मूल्य राख्ने र पछि नाफा भएन भन्दै आफैंले तोकेको रकममा काम गर्न जाँगर नगर्ने प्रवृत्तिका कारण निर्माण व्यवसायीहले झुलाउने गरेका छन् । यो प्रवृत्ति अब रहनु हुँदैन’, उनले भने ।

व्यवस्थापन नमिलेका कारण सडक निर्माणसम्बन्धी कार्यमा समस्या भएको बताएका छन् । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले निर्माण व्यवसायीहरुले सम्झौता गर्दा नै असार, साउन र भदौमा काम नगर्ने सम्झौता हुने भएकाले निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए ।

आफू हरेक १५ दिनमा सडकको अनुगमनका लागि कपनमा आउने प्रतिबद्धता जनाउँदै महानिर्देशक सिग्देलले कमजोरी गर्ने कसैले पनि छुटकारा नपाउने बताए ।


प्रतिक्रिया

ताजा खबर

More