तेस्रो चरणको स्थानीय चुनावमा आज उम्मेदवारी दर्ता हुँदै

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १०:१९


काठमाडौं, भाद्र २१ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान दस बजेदेखि साँझ पाँच बजेसम्म आठ जिल्लामा मनोनयन दर्ता हुनेछ । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

आयोगले निर्वाचन कानुनको परिधिभित्र रहेर आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । कानुनविपरीत कसैले उम्मेदवारी दिएमा आयोगले छानबिन गरी रद्द गर्ने दाबी गरेका छन् । महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवारी शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । कानुनमा वडा तहमा ४० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने अनिवार्य व्यवस्था छ । आयोगले निर्वाचन पर्यवेक्षणका ४४ वटा संस्थाका दुई हजार बढी पर्यवेक्षकलाई अनुमति दिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदाता शिक्षा कार्यकर्ताका दरले तीन हजार पाँच सय कर्मचारी खटाउने तयारी गरेका छन् ।

एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा वीरगन्ज महानगरपालिका, तीन वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ ।

आयोगले चुनावसम्बन्धी विवादका लागि निर्वाचन विवाद निरूपण समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतले आचारसंहिता पालनाको अनुगमन गर्नेछन् । चुनावी प्रचारप्रसारलगायत निर्वाचन खर्चका लागि ५० जना सूक्ष्म अनुगमनकर्ता खटाउने तयारी आयोगले गरेका छन् । प्रत्येक जिल्लामा उम्मेदवारले गर्ने प्रचारप्रसार अनुगमनमा सहसचिवस्तरीय टोली खटाइएको आयोगले जनाएका छन् ।

 


प्रतिक्रिया

ताजा खबर

More