प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १०:४८


काठमाडौं, भाद्र २१ ।
प्रमुख विपक्षी दल एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले कतिपय स्थानीय तहमा द्विपक्षीय र त्रिपक्षीय तालमेलको अन्तिम कसरत गरिरहेका वेला एमालेले सबै स्थानीय तहमा एक्लै प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

प्रदेश नम्बर २ का आठ जिल्लाका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिकासहित १३६ मध्ये १२७ स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम एमालेले सार्वजनिक गरेको छ । बाँकी नौ तहको उम्मेदवार मनोनयन अघिसम्म क्रमशः टुंगो लगाउने एमालेले जनाएको छ ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेले कुनै पनि स्थानीय तहमा अहिलेसम्म तालमेल नगरेको जानकारी दिँदै एक्लै प्रतिस्पर्धाका लागी सक्षम रहेको बताए ।

महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा एमालेलाई हराउन कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनमा देशबाहिरको शक्ति पनि सामेल भएको आरोप लगाए । ‘अहिलेको गठबन्धन एमालेविरोधी अनौठो महागठबन्धन हो, देशभित्र मात्रै मिले त ठीकै थियो, तर यसमा देशबाहिरको शक्ति पनि मिसिएका छन्,’ पोखरेलले भने, ‘कुनै सैद्धान्तिक जगविना गणितमा टिकेको यो गठबन्धन कुनै पनि बेला ढल्ने निश्चित छ ।’

एमालेले पत्रकार सम्मेलनमार्फत प्रदेश नम्बर २ को मत प्रभावित पार्न सत्ता पक्षले राज्यसत्ताको दुरुपयोग सुरु भएको दाबी गर्दै आचारसंहिता कडाइका साथ पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

ताजा खबर

More