बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १८:०२


काठमाडौं, भाद्र २१ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफुलाई गर्व लागेको बताएका छन् ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्म जयन्तीका अवसरमा आज आयोजना गरेको ‘बिपी साहित्य सम्मान तथा बिपी सेनानी सम्मान’ कार्यक्रममा उनले बिपीको सिद्धान्तले पार्टी यो अहिलेको अवस्थासम्म आइपुगेको बताएको हो । हर क्षेत्र र हर विषयमा अध्ययनशील र बुझेको व्यक्ति बिपी कोइरालाको बारेमा अझै अध्ययन, अनुुसन्धान र खोज गर्नु आवश्यक छ, उनले भने ।

प्रधानमन्त्री देउवाले बिपी कोइरालाको साहित्य र राजनीतिलाई आम जनतासम्म लैजानु जरुरी रहेको बताउँदै यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले बिपी कोइरालालाई सहयोग गर्ने र उनका विचारलाई आम जनतासमक्ष साहित्यमार्फत लैजाने व्यक्तिलाई सहयोग गरेर ट्रस्टले राम्रो काम गरेको उल्लेख गरे ।

सो अवसरमा प्रधानमन्त्री देउवाले रु.एक लाख एक हजार राशिको ‘बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी तथा रु.५१ हजार राशिको ‘बिपी सेनानी सम्मान’ तीर्थराज ज्ञवाली (चैतु)लाई प्रदान गरेका थिए ।

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य बलदेव शर्मा मजगैया, डा.धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनको समितिले निर्णय गरे अनुसार उक्त पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार प्रा.डा.अभि सुवेदीले बिपी कोइरालाको साहित्य लेखन र राजनीतिबीच सम्बन्ध रहेको बताए । उनले अहिलेको समयमा बिपीको राजनीति र साहित्य कमजोर हुँदै गएको चर्चा गर्नुभयो ।

ट्रस्टका महासचिव एवं सांसद रामचन्द्र पोखरेलले बिपीको योगदान र उनले प्रतिपादन गरेको सिद्धान्तलाई आम जनता सामु पु¥याउन ट्रस्टले महत्वपूर्ण भूमिका खेलेको बताए ।

ट्रस्टले बिपीका यत्रतत्र छरिएर रहेका कृतिलाई एकीकृत गर्ने तथा साहित्य सम्मान, बिपीसँगै लोकतान्त्रिक आन्दोलनमा लागेका व्यक्तिलाई सम्मान, बिपीको बारेमा विद्यावारिधि गरेका व्यक्तिलाई पुरस्कार तथा सम्मान, विद्यावारिधिका लागि शोध गर्नेलाई सहयोग, देशभर रहेका बिपीका शालिकलाई सुरक्षित गर्ने, चितवनको खैरहनी नगरपालिकाको विद्यालयलाई सहयोग गर्ने काम गरिसकेकोे महासचिव पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More