उत्पीडित समुदायको पहिचान समाप्त गर्नेहरू जनताका दुश्मन : नेता श्रेष्ठ

काठमाडौं, भाद्र २३ ।
सङ्घीय समाजवादी फोरम नेपालको भातृ सङ्गठन सङ्घीय समाजवादी नेवाः सङ्घको नेवाः प्रदेश समिति गठन भएको छ । नेवाः सङ्घको अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी पहिचानको आन्दोलनको केन्द्र भएको बताउँदै नेपालमा पहिचानको आन्दोलनलाई सफल पार्न सङ्घीयता पक्षधरहरू सबै आफ्नो पार्टीमा गोलबन्द हुनुपर्ने बताएका छन् ।
उनले देश सङ्घीयतामा प्रवेश गरेपछि पनि पहिचानसहितको सङ्घीयताको विपक्षमा उभिएको एमाले यस युगको सबैभन्दा प्रतिगामी भएको बताउँदै उत्पीडित राष्ट्रियताहरूले जबसम्म पहिचान विरोधीहरूको हातमा डाडु पन्यु सुम्पन्छन् तबसम्म राष्ट्रिय मुक्ति आन्दोलन सफल नहुने बताए । उनले उत्पीडित समुदायको पहिचान समाप्त गर्नेहरू जनताका दुश्मन भएको बताउँदै अब पहिचान पक्षधर शक्तिले आफ्नो शत्रु र मित्रु चिन्नु पर्ने दिन आएको बताए ।
अहिले नयाँ पुस्ताले ठीक ढङ्गले नेवाः राज्यभित्रको समस्या पहिचान गरी सेभ नेपाः भ्याली आन्दोलन सञ्चालन गरेकोमा प्रशंसा गर्दै उनले ढिलो चाँडो नेवाः राज्य स्थापना भई छाड्ने बताए । उनले नेवाः राज्यभित्र गोर्खा राज्य विस्तारपूर्व तीन प्रमुख शहरहरूको अतिरिक्त स–साना स्याटलाइट सिटीहरू निर्माण भएको भए पनि त्यसलाई व्यवस्थित गर्नुको सट्टा शासकहरूले त्यहाँको संस्कृति र सम्पदाहरू समाप्त गर्न योजनाबद्ध रूपमा अतिक्रमण गरेको बताए ।
उनले भएको रिङरोडलाई व्यवस्थित नगरी आउटर रिङरोडको कुरा गर्नु, पुराना सम्पदायुक्त शहरहरूलाई ध्वंश गरी गैर–न्यायिक रूपमा सडक विस्तार गर्नु तथा भएको शहरलाई स्मार्ट बनाउनुको सट्टा नयाँ स्याटलाइट सिटीको कुरा गर्नु यहाँको आदिबासी तथा स्थानीय समुदायहरूलाई विस्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् ।
कार्यक्रममा राजनीतिक समितिका सदस्य डा. महेशमान श्रेष्ठले आफ्नो पार्टीले मधेशी, थारू लगायत उत्पीडित समुदायहरूसँग हात मिलाएको मुख्य कारण नेवाः राज्य प्राप्तिका लागि भएको बताए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू न्हुच्छेलाल महर्जन, शाक्य सुरेन, पवित्र बज्राचार्य, काठमाडौं जिल्ला समिति अध्यक्ष मनरत्न शाक्य, सङ्घीय समाजवादी तामाङ सङ्घको अध्यक्ष जय गोले लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए भने सुरज महर्जन लगायत सेभ नेपाः भ्यालीका केही अभियन्ताहरू ससफो नेपालमा प्रवेश गरेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रमेशचन्द्र प्रधान, नेपाल उद्योग तथा व्यावसाय महासङ्घका अध्यक्ष राधाकृष्ण महर्जन, केन्द्रीय लेखा परीक्षण समितिका सदस्य द्वय पृथ्वीराज राई र बिष्णु चित्रकारको पनि उपस्थित रहेको थियो । सङ्घका महासचिव सुदय शिलाकारले सञ्चालन तथा उपाध्यक्ष खगेन्द्र बहादुर जोशीले स्वागत गरेको उक्त कार्यक्रमको अन्त्यमा सुरज महर्जनको नेतृत्वमा नेवाः सङ्घको १५ सदस्यीय नेवाः प्रदेश समिति पनि गठन गरेको छ ।
प्रतिक्रिया