सुरक्षा व्यवस्था कडा छ ? अपराध अनि गुण्डागर्दी !

— शपुर सुवेदी
देशमा जस्तो सुकै सुरक्षा व्यवस्था कडा होस् तर, अपराध रोकिन्न र रोक्न सक्दैन पनि । तबसम्म, जबसम्म ठूला राजनीतिक पार्टीका व्यक्तिहरूको संरक्षणले सुरक्षा कार्यमा खलल पुर्याउँछ ।
नेपालको कानून पढ्दा लाग्छ, यहाँ कसैले अपराध गर्न सक्दैन, सबै नेपाली जनताले आनन्दको सास फेर्न पाइन्छ । तर, कानून किताबमा मात्र सीमित भएका कारण ‘आकाशको फल आँखा तरी मर’ भने सरह भएको छ । अर्थात अहिलेसम्म कोहीँ जनता निर्बाध रूपमा बाँच्न सक्ने अवस्थाको श्रृजना भएको छैन, हरेक व्यक्ति केहीँ न केहीँ डर, त्रास र भयले उथल पुथल भएर बाँच्नु पर्ने अवस्था छ ।
बिहान घरबाट निस्केको मान्छे घर नफर्कुञ्जेल परिवारमा नानाथरी कुरा खेलाएर बस्नुपर्ने बाध्यात्मक अवस्था छ । बरु, विदेश गए नपुगेसम्म चिन्ता हुन्छ, पुगेपछि मन आनन्दित र सुरक्षित साथ पुगियो भन्ने कुराले बरु निर्धक्क हुने ठाउँ छ । तर, राजधानी र मुलुकका विभिन्न स्थानमा हेर्ने हो भने त्यो अवस्था छैन । मात्र डर, त्रास र भयले मनमा बास बसिरहेको हुन्छ ।
आफ्ना बालबच्चाहरू स्कूल पढ्न पठाउँदासमेत चिन्ता लिनुपर्ने अवस्था छ । देशमा घटेका अपहरण र त्यसपछि फिरौटी रकम माग गर्ने जस्ता घटनाका कारण । सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने हरेक स्थानमा करिब १–२ मिटरको दूरीमा अस्थायी प्रहरी चौकी रहेको छ । तर, ढुक्क साथ बस्ने वातावरण छैन । गरिब भए समाजबाट अपहेलित भएर बाँच्नुपर्ने, गरिब नभए चोर र डाकाको शिकार बन्ने हो की भन्ने डर, त्रासले मनमा भय लिएर बाँच्नु पर्ने ।
उदाहरण यहाँ कैयौं छन्, सम्पत्तिकै लागि हत्या गरेर फरार भएको घटना । पुलिस केश गर्यो आफैँ धाउँदा धाउँदै बिरामी परेर थला परिन्छ तर, अपराधी निर्वाध रूपमा घुमिरहेको हुन्छ सुरक्षाकर्मीको आँखा छलेर । अथक प्रयासपछि अपराधी प्रहरीको फन्दामा पर्छ तर, पैसा देखेपछि ‘महादेवको पनि तीन नेत्र’ भने झैँ अपराधी पैसा धरौटी राखेर होस्, राजनीतिक पार्टीको दबाबका कारण होस् या अन्य कुनै । अपराधी पुनः छुटिन्छ र थप अपराध गर्न अपराधीलाई हौसला मिलेको हुन्छ । अनि पुलिस केश गर्ने व्यक्ति थप तनाबमा हुन्छ ता की छुटेर आएका अपराधीले अब फेरी अर्को तनाब दिँदै धरौटी माग गर्ने हो की या ज्यान लिने हो की भनेर । यहीँ कारणले गर्दा यहाँ कैयौं त्यस्ता घटना छन् जुन जानाजानै पुलिस केश गरेका हुँदैन, बरु अपराध सहेरै बसेका हुन्छन् । दुश्मनी मोल लिनु भन्दा बरु चुपचाप सहेरै बस्नु ठीक भन्ने मानसिकता सबैमा बसिसकेको छ । कारण, कानून हामी जस्ता गरिब र निमुखा व्यक्तिका लागि होइन ।
यहाँ राजनीतिक पार्टीका केहीँ व्यक्तिको मात्र होइन भित्रभित्रै केहीँ–केहीँ सुरक्षाकर्मीहरूको पनि त्यत्तिकै हात छ भन्ने कुरा आम नेपाली जनताले अनुमानसमेत लगाई सकेका छन् । कारण, सुरक्षाका लागि २४ सै घण्टा तैनाथ रहने सुरक्षाकर्मीहरूले बोल्ने भाषा, तरिका र व्यावहारले । अर्को भनेको वास्तविक अपराधीलाई पक्राउ गरी कडा सजाँय दिन माग गर्दै नारा, जुलुस, धर्ना, र्याली र डेलिगेशन गए पनि पछि आएर त्यसको परिणाम शून्य हुन्छ अर्थात सही रूपमा सुनुवाई हुँदैन ।
कोहीँ–कोहीँ अपराधी पक्राउ परेका पनि छन् तर, पक्राउ परेको केहीँ दिनमा नै अपराधी छुटिन्छ । अपराधीलाई पनि लाग्दो होला, जेलमा आउने जाने भनेको मानौँ ससुरालीमा आउने जाने जस्तै व्यावहार, अपराधी होइन देशकै ठूला नेता सरह भएर बाँच्नसमेत सिकिसकेका छन् र उसको लागि यो कुनै नौलो कुरा नै होइन ।
देशमा कुनै त्यस्तो राजनीतिक पार्टी होला ? जसले गुण्डागर्दी गर्ने डन पालेर नबसेको होस् । त्यस्ता कति सुरक्षाकर्मीहरू होलान् जसले पार्टीको इमान्दारिता ननिभाएको होस् । मात्र जनताको सेवामा २४ सै घण्टा खटेको होस् ?
यस्तो अवस्था हेर्दा यहाँ सोझा साझा आम नेपाली जनताले त्यसको आश गर्नु आफैँले आफैँलाई धिक्कार गर्नु सिबाय अरू केहीँ हुने छैन । यहाँ निष्पक्ष र बफादार व्यक्ति या त मरिन्छ या त जागिरबाट हात धोइन्छ ? या त कुनै राजनीतिक दलकै गुण्डाका शिकार भइन्छ ।
कुरा तस्करीको, यहाँ हतियार, गाँजा, चरेस, अफिम, आईसी, डलर र सुन जस्ता कैयौं चीजको तस्करी हुन्छ तर, बाहिर आउँछ त केहीँ मात्रामा मात्र । अर्कोतिर नगन्य रूपमा यस्ता घटनाले छलाङ्ग हानिसकेको हुन्छ । त्यस्ता घटना बाहिर आउनुको अर्को कारण भनेको ठूलो तस्करी भएपछि मोटो रकमको डिल हुन्छ, जसमा ठूलै गिरोहको हात पनि हुन्छ, त्यहीँ कारणले दुईबीच भागबण्डा र लेनदेनमा कुरा नमिलेपछि बाहिर सार्वजनिक हुने गरेको अनुमान लगाउन सकिन्छ । अनि त्यहीँ ईस्यू हुन्छ भण्डाफोर गरेर जनतामा सुरक्षाकर्मीले आफ्नो गुनगान कमाउने ठाउँ । जनताको आँखामा धूल झोक्ने ठाउँ ।
त्यसैले नेपालको कानून १०० प्रतिशत चित्तबुझ्दो छ तर, कार्यान्वयनमा १०० प्रतिशत फितलो छ जसले गर्दा यस्ता अपराधिक घटनामा पूर्ण विराम लगाउनुको साटो उल्टै वृद्धि हुँदै गइरहेको छ । त्यसमाथी नजिकिँदै गरेको चाडपर्वमा यस्ता घटनाले बढावा नपाउन उचित रूपमा संयमता अपनाएर यसलाई दुरुत्साहित गर्नेतर्फ सच्चा देशभक्त सिपाहीहरूले उचित कदम चाल्नु अपरिहार्य भएको छ ।
होइन भने देशका आम नागरिकले प्रश्न खडा गर्दै यस्तो तरिकाले कसरी रोकिन्छ अपराध ? भनेर औँला ठड्याउनु भन्दा अगाडि नै सलामको लागि हात अगाडि बढ्न सक्ने वातावरणको श्रृजना गरोस् र ‘सत्य सेवा सुरक्षणम्’ को वाणीलाई पूरा गरुन् । जय नेपाल ।
प्रतिक्रिया