तीन डाक्टरसहित १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार १८:१२


लहान, भाद्र २३ ।
तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबिबिएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिरामीको उपचार गर्दै आएका तीनै जना एमबिबिएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ ।

नेपाली कांग्रेसबाट डा.सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा.नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा.दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा.सुभाषचन्द्र नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरो रहेका छन् । डा.सुभासचन्द्र कांग्रेसका महासमिति सदस्यसमेत हुन् । उनी सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन् ।

यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा.नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरो हुन् । डा.नवीन एमाले छाडेर वि.सं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बन्नुभएको छ । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ ।

नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा.दिलीप सदा दलित समुदायको हुन् । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहनुभएका डा.सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताएका छन् । तीनै जनाले आफूहरू चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने बताएको छ ।

उनीहरूसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । फोरमबाट उम्मेदवार बन्नुभएका यादव पूर्वप्रमुखसमेत हुन् ।

सिरहा नगरपालिकाको प्रमुख पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।
नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More