विनियमानुसार नै प्रहरी प्रशासनका कर्मचारीको सरुवा बढुवा भएको छ : गृहमन्त्री शर्मा

काठमाडौं, भाद्र २३ ।
गृहमन्त्री जनार्दन शर्माले प्रहरी प्रशासनका कर्मचारीको सरुवा/बढुवा विधिसम्मत भएको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले उठाएका प्रश्नको विशेष समय लिएर जवाफ दिँदै उनले शान्ति सुरक्षा कायम गर्न विधिसम्मत र कार्यसम्पादन तथा मूल्यांकनका आधारमा सरुवा/बढुवा गरिएको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री शर्माले भने, कर्मचारी सरुवा/बढुवामा अनियमितता हुने गरेको भन्ने कुरा बारम्बार आउने गरेको छ, आगामी दिनमा यस्तो नहोस् भन्नका लागि संघीय प्रहरी ऐन निर्माण अन्तिम चरणमा पुगेको छ, भविष्यमा सरुवा बढुवा सबै ऐनमै व्यवस्था गरिनेछ ।
उनले बढुवामा अनियमितता भएको भन्ने सांसदको प्रश्नप्रति इङ्गित गर्दै भने, कुनै पनि कर्मचारीको तीन वर्षको नियमित कार्यसम्पादन र मूल्यांकनका आधारमा बढुवा हुन्छ, सोहीअनुसार प्रहरी र कर्मचारीको बढुवा भएको छ, त्यसमा मेरा मान्छे कोही परेका छैनन्, अहिले सरुवा बढुवा निष्पक्ष भएको छ ।
छुुट्टै प्रहरी हेडक्वाटर बनाई प्रहरी सरुवा बढुवा गरेको भन्ने आरोपप्रति गृहमन्त्री शर्माले त्यसमा कुनै पनि सत्यता नभएको भन्दै त्यस्तो भएको भए आफूले नै कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । गृहमन्त्री शर्माले कानूनमा व्यवस्था हुँदाहुँदै पनि राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुट्याएको भन्ने कुरा भ्रम मात्र भएको स्पष्ट पार्नुभयो ।
सुन तस्करीका विषयमा भरिया मात्र पक्राउ पर्छन् तर मुख्य तस्करमा संलग्न मालिक पक्राउ नपर्ने गरेको सांसदको प्रश्नको जवाफमा उनले भने, तस्करीबाट हालै सय किलो सुन प्रहरीले बरामद गरेको छ, जति सुन आएको छ, त्यति बरामद भएको छ, कसैले लुकाउने छिपाउने कुरा भएको छैन ।
गृहमन्त्री शर्माले बाढीपहिरो पीडतका उद्धार राहतपछि क्षति मूल्यांकनको काम अन्तिम चरणमा पुगेको र त्यसको प्रतिवेदन पश्चात् पुनःस्थापनाको योजना ल्याउने तयारीमा सरकार रहेको जानकारी दिँदै जति सक्दो छिटो पुनःस्थापनाका लागि छुट्टै संयन्त्र बनाई योजना अघि बढाउने बताए ।
उनले आगामी असोज २ गते २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जनताको निकै उत्साहजनक सहभागिता देखिएको भन्दै शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने विश्वास दिलाए ।
प्रतिक्रिया