संख्या अपुग भएपछि संसद् बैठक एकै दिनमा दुई पटक स्थगित

काठमाडौं, भाद्र २३ ।
व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा गणपूरक संख्या अपुग भएपछि एकै दिनमा दुई पटक संसद् बैठक स्थगित हुन पुगेको छ ।
सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथी छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्ने क्रममा सांसद् प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीमगरले तीन मिनेट घण्टी बजाएर सांसद्को संख्या यकिन गर्न निर्देशन दिएकी थिइन् ।
तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दासमेत गणपूरक संख्या सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् एक सय ४८ जना सांसद् हुनुपर्नेमा संख्या एक सय ३६ मात्र भएपछि सभामुख घर्तीमगरले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाइ सदस्य संख्या अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
त्यसपछि बसेको दोश्रो बैठकको सुरुमै पुनः सांसद् सुवालले दोश्रो गणपूरक संख्याका बारेमा यकिन गर्न माग गर्दा सो बैठकमा एक सय ५७ सांसद् उपस्थित देखेपछि बैठक सञ्चालन भएको थियो ।
त्यसपछिको सञ्चालन बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको थारू आयोग विधेयक माथी छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्ने क्रममा सांसद् प्रेम सुवालले पुनः तेश्रो पटक गणपूरक संख्या यकिन गर्न नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख ओनसरी घर्तीमगरले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्न निर्देशन दिएकी थिइन् । संख्या गणना गर्दा एक सय २७ मात्र सांसद् संख्या यकिन भएपछि सभामुख घर्तीमगरले पुनः दोश्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
दोश्रो पटक १५ मिनेटका लागि स्थगित बैठक बस्दै नबसी सूचना टाँस गरेर विशेष कारणबस भन्दै आगामी असोज ३ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया