विपीको विचार आत्मसात् गरे मुलुक अघि बढ्छ : महामन्त्री कोइराला

पोखरा, भाद्र २४ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई सबैले आत्मसात् गरे मात्रै देश अघि बढ्न सक्ने बताएका छन् ।
एक सय तीनौँ बिपी जयन्तीका अवसरमा कांग्रेस पोखरा लेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उनले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको उल्लेख गरे ।
उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोडसमेत दिएका छन् ।
सोही अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने धारणा व्यक्त गरे ।
वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा. तुल्सी भट्टराई, निर्मला ढुङ्गाना, चीनियाँ थापालगायतले बिपीको योगदानमाथी प्रकाश पारेकी थिइन् ।
प्रतिक्रिया