आइतबारबाट समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलले निवेदन दिनुपर्ने

काठमाडौं, भाद्र २४ ।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई यहीँ भाद्र २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचित गरेको छ ।
निर्वाचन आयोगमा दर्ता रहेका उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न अनुरोध गर्ने सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ ।
प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो सो समेत स्पष्ट रूपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले सूचना प्रकाशित गरेको हो ।
तोकिएको म्याद भाद्र २५ देखि २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउनेतर्फ पनि आयोगले राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया