सरकारभन्दा यातायात व्यावसायी कडा, मंगलबारबाट टिकट बुकिङ खुला

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार ०९:२४


काठमाडौं, भाद्र २५ ।
नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा यातायात व्यावसायीहरूले आफूहरूको माग सम्बोधन नभए टिकट बुकिङ खुला नगर्ने अडान लिएपछि सरकार निरीह सरह भएको छ ।

गत दुई वर्ष अगाडि भारतले गरेको अघोषित नाकाबन्दीका बेला सरकारले नेपाली सेनालगायतको गाडीले निःशुल्क सेवा उपलब्ध गराएको थियो । तर, यसपटक भने सरकारले त्यसतर्फ ध्यान दिनुको साटो उल्टै व्यावसायीहरूको अगाडि झुक्न बाध्य भएका छन् ।

यसअघिसम्म यातायात व्यावसायीहरूले दशैँको महिना दिन अगाडि नै टिकट बुकिङ खुला गरी यात्रुहरूलाई सेवा दिएको थियो तर, यसपटक आफूहरूको माग सम्बोधन नभए टिकट बुकिङ खुला नगर्ने कडा चेतावनीपश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र यातायात व्यावसायीबीच सिंहदरबारमा भएको छलफलमा बैज्ञानिक भाडादर लागू हुनुपर्ने र छतमा सामान राख्न पाउनुपर्ने मागमा सहमति जनाएपछि घटस्थापनाको ठीक एक हप्ता अगाडि अर्थात भाद्र २७ गते मंगलबारबाट टिकट बुकिङ खुला गर्ने सहमति भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाकाअनुसार दशैँको टिकट उपलब्ध गराउने क्रममा यात्रुहरूलाई साबिककै भाडा दरमा टिकट वितरण हुने भएको छ ।

योसँगै यात्रुहरूका सामान छतमा राख्न पाउने, फास्ट ट्रयाकबाट सडकको मर्मत सम्भार गर्ने र बैज्ञानिक भाडा दर लागू गर्न गृहकार्यसमेत अघि बढाइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More