चिन र नेपालबिच कनेक्टिभिटी बढाउन पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित’ : परराष्ट्रमन्त्री

काठमाडौं,भाद्र २५ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेको छन् ।
ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको र अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि अवसर रहेको बताएका छन् ।
नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्ग’मा सम्झौता भइसकेको उल्लेख गर्दै उनले त्यसलाई दुवै देशले सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।
परराष्ट्रमन्त्री महराले उपुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामी रुपमा सहकार्य गरेर जान चाहेको स्पष्ट पारेका छन् । जलविद्युत, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी दिएका छन् ।
चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको दाबी गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रह गरेका छन् । नेपालमा वैदेशिक लगानी भित्राएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको भन्दै यस अवसरलाई सदुपयोग गर्न सुझाव दिए ।
चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्यदूतावास माध्यम भएको बताउँदै उनले एक हजारभन्दा बढी नेपाली रहेको ग्वाङन्दोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । चीनसँगको कूल व्यापारमध्ये ६० प्रतिशत ग्वाङन्दोङ प्रान्तबीच रहेको बताइएको छ ।
परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँका जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया