राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देवी कुमारीबाट प्रसाद ग्रहण

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार ०७:४८


काठमाडौं, भाद्र २६ ।
इन्द्रजात्राको अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गरेका छन् ।

वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उनले राष्ट्रप्रमुखको हैसियतले फूल, प्रसाद तथा टीका ग्रहण गरेका हुन् ।
मल्लकालदेखि नै हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

भदौ २० गतेबाट औपचारिक रूपमा शुरु भएको इन्द्रजात्राको आइतबार समापनका क्रममा हनुमानढोकमा ठड्याइएकोे लिङ्गो राति १०ः४५ बजेको साइतमा पूजाआजाका साथ ढालिएको थियो ।

भक्तपुरको चित्तपोलस्थित जंगलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजासहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ ।

काठमाडौँ उपत्यकामा मनाइने पर्वमध्ये इन्द्रजात्रा ठूलो पर्व मानिन्छ । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात् गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ । स्थानीय मजिपा लाखे, गणेश, भैरव र कुमारीको रथ यात्रामा घुमाइने चलन छ ।

करिब एक सातासम्म चल्ने सो जात्रामा काठमाडौँका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गर्ने गरिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More