राजविराज नगरपालिकामा सुँगुरको आतङ्कले गर्दा नगरवासी हैरान
राजविराज, बैशाख २६ ।
सप्तरी जिल्लाको करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र छाडा छोडिँदा नगरवासीहरू हैरानी खेप्दै दैनिक रूपमा दुःख पाइरहेका छन् ।
राजविराज नगरपालिकाले सुँगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँ–ठाउँमा दुर्गन्ध फैलिने गरेको छ ।
राजविराजको मुख्य चोकहरू दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीको गुनासो रहेका छन् ।
वर्षौंदेखि सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीले आरोप लगाएको छ ।
सुँगुर पालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले पनि राजविराजमा सुँगुर आतङ्क बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।
साथै, जहाँतहाँ सुगुरले फोहर गर्नाले नगरमा रोगको सङ्कमण समेत फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ ।
यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुरबाट यहाँ दुर्गन्ध फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको राजविराज–४ का मुकेश यादवले बताएका छन् ।
साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको छ ।
यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुँगुर आतङ्कबारे सर्वसाधारण जनताबाट गुनासो पाइएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुँगुर छडापनका कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको जनाएको छ ।
प्रतिक्रिया