ललितपुर महानगरद्वारा विशिष्ट व्यक्तिहरू हरिराम जाेशी र छत्रबहादुर कायस्थ सम्मानित

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहीबार १५:०६


काठमाडाैं, कार्तिक २९ ।
ललितपुर महानगरपालिकाले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर रूपमा लागि रहेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवं पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधाका साथ सम्मान गरेको छ ।

ललितपुर महानगरले आज बिहीबार एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको हो । महानगरको दिनचर्या थप सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रूपमा नगर प्रहरी, मोबाइल सेट हस्तान्तरणसमेत गरेकाे छ ।

यसका साथै अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने भएकाे छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको जानकारी दिँदै उनले भने, ‘उहाँहरूको दिनचर्या सहज होस्, हिँड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।’

ललितपुर महानगरको वडा नं.-५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी, छत्रबहादुर कायस्थको जन्म वि.सं. १९९९ मा भएको हो ।

संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जनभन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् ।

यसैगरी, सम्मानित भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्धारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्धारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले कला, संस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मान र कदर गर्न याे कार्यक्रम गरेको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कला, संस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका निकै गौरवान्वित महशुस भएकाे छ ।’

ललितपुर महानगरपालिकाले यसअघि, संस्कृतिविद्, शताब्दीपुरुष डा. सत्यमोहन जोशीको सम्मान स्वरूप सवारी साधन, सुरक्षाकर्मी र सञ्चार साधन उपलब्ध गराएको थियो ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....