गरिमा विकास बैंक र नेपाल विद्युत उद्यमीबीच सहकार्यसम्बन्धी सम्झौता
काठमाडौं, कार्तिक २९ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यही कार्तिक २८ गते बुधबारका दिन गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र Federation of Electrical Entrepreneurs of Nepal को तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले उक्त सम्झौता-पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् Federation of Electrical Entrepreneurs of Nepal ले उक्त संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ र सो संघमा आबद्ध उद्यमीहरूले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आकर्षक ब्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यावसाय कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ वटासहित देशभर १ सय २३ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मेसिनमार्फत् ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया