आफ्नो पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै एक महिला

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १३:१७


झापा, बैशाख २६ ।
विगत एक वर्षदेखि दुवै मिर्गौला खराब भएर डायलासिस गरिरहेका आफ्नो पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थालेकी छिन् ।

दुवै मिर्गौला खराब भएका ३६ वर्षीय भूपिन राईको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको जनाएको छ ।

भूपिनलाई सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था रहेको छ । उनको उपचार  खर्च जुटाउन स्थानीय एक युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो खरिद गरिएको हो ।

शान्ताले सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि आफ्नो पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय गरेकी बताएकी छिन् ।उक्त अभियानबाट विगत छ महिनामा रु. १६ लाख सङ्कलन गरेको थियो ।

काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु. ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताएका छन् ।

बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै शान्तालाई टेम्पो किनेर दिएको बताए ।मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अबस्था पनि नाजुक हुँदै आइरहेको थियो ।

हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरूले एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगर बताए ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो ।

टेम्पोको बजार मूल्य पाँच लाख ३५ हजार रहेको छ । तर सहारा नेपालले रु. २५ हजार छुट गरिदिएकाले शान्ताले रु. पाँच लाख १० हजारमा टेम्पो पाएका छन् । टेम्पो कुदाएर दैनिक रु. एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने शान्ताले अपेक्षा गरेको छ । त्यसबाट उनीले सातामा तीनपटक आफ्नो पतिको डायलासिस र परिवारको भरणपोषण खर्च पु¥याउनु पर्छ ।

उनीहरूका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने छ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।
शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर जाने गर्दछिन् ।

बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्दछन् । भूपिनले अरू काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किने गर्दछिन् ।

आर्थिक स्थिति कमजोर भएकाले वैदेशिक रोजगारीका लागि कतार पुगेपनि भूपिनको अवस्था ज्यादै नाजुक भएपछि सात महिना पछि उनी नेपाल फर्केर पतिको उपचारमा जुटनु भएको थियो ।

भूपिन बचाऊ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताए ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....