सिन्धुपाल्चोकमा बस दुर्घटनामा दुईको मृत्यु, ३५ घाइते
चौतारा, बैशाख २८ ।
स्थानीय तहको निर्वाचनका लागि काठमाडौंबाट दोलखातर्फ रिजार्भ गरेर गइरहेको बा३ख ५०५६ नम्बरको यात्रु बस आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ ।
घाइतेहरूको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने नौ जनालाई राजधानीको अस्पतालमा पठाइएको जनाएको छ ।
प्रतिक्रिया