चुनाव नजिकिँदै गर्दा उम्मेदवारका घरमा बम, सुरक्षा चुनौती थपिँदै
नवलपरासी, बैशाख २९ ।
नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।
स्थानीय तहको निर्वाचन हुन एक दुई दिन बाँकी हुँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ ।
नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।
उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीय क्षति भने भएको छैन । नेपाली सेनाको टोलीले फेला परेका बमलाई डिस्पोज गर्दै आएको छ ।
यसरी दुई दिनको अवधिमा जिल्लामा निर्वाचन बिथोल्ने लक्ष्यअनुरूप उम्मेदवारका घरदेखि सार्वजनिकस्थलसम्म बम फेला पर्नेक्रम बढे तापनि सो कार्यमा संलग्न एकजनालाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन जसका कारण शान्ति सुरक्षासमेतमा प्रश्न चिह्न उठ्न थालेको अवस्था छ ।
प्रतिक्रिया