तनहुँमा रात्रिबस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते
दमौली, बैशाख २९ ।
म्याग्दीको बेनीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९६२६ नम्बरको रात्रिबस दुर्घटनामा भएको छ ।
तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ भने अन्य आठजना यात्रु घाइते भएका छन् ।
बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्लेको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्ला गण्डकी नगरपालिका–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
तीव्रगतिमा गुडेका कारण सो बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया