उपत्यकामा ‘हर्न निषेध’ कारबाहीबाट १८ लाख राजस्व सङ्कलन
काठमाडौं, जेठ २ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु. १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।
महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत बैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार सात सय २४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिएका छन् ।
उनकाअनुसार उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन् । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरेका छन् ।
हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ । हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले पाँच सय राजस्व सङ्कलन गर्दै आएको छ ।
प्रतिक्रिया