३२ वर्षदेखि फरार रहेका असी वर्षीय बृद्धलाई जेल चलान
बैतडी, जेठ ४ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका ८० वर्षीय पर्मे भट्टलाई जेल चलान गरेको छ । उनी ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जनाएको छ ।
भट्टले वि.सं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
सो दिन सदरमुकाम गोठलापानीबाट फर्किएको भनी अबेर भइसकेपछि बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राति धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेका जनाएको छ ।
भट्टलाई प्रहरीले सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो ।
भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल बैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ ।
बोकेर यताउता लैजानुपर्ने अवस्था रहेपनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
प्रतिक्रिया