साेमबारबाट २० वर्ष पुराना गाडी कवाडी घाेषणा नगरे कारबाही
काठमाडाैं, असार १० ।
वागमती प्रदेश सरकारले २० वर्ष पुराना गाडीहरू पत्रु बनाउन (कवाडी घोषणा गर्न) दिएको समयसीमा भोलि सोमबार सकिँदैछ । यसअघि वागमती प्रदेशअन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै ३५ दिनभित्र यस्ता सवारी साधन पत्रु बनाउन निर्देशन दिएको थियो ।
सोहीअनुसार हालसम्म सवारी धनी आफैँले २० वर्ष पुराना सवारी साधनहरू पत्रु नगरेको खण्डमा भने कसरी नियमन गर्नेबारे छलफल भइरहेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । त्यस्ता सवारी साधनलाई कसरी नियन्त्रणमा लिने भन्ने निर्णय भने हालै नभएको पौडेल बताउँछन् । ‘हालसम्म हामीले स्वतः पुराना सवारी साधनलाई पत्रु बनाउन भन्दै निर्देशन दिएका हौँ, यो हाम्रो नियमिन प्रक्रिया पनि हो,’ उनले भने, ‘यदि भोलिसम्म स्वतः पत्रु नभएका सवारी साधनलाई भने कसरी नियन्त्रण गर्ने भन्नेबारे थप छलफल चलिरहेको छ ।’
यसरी वागमती प्रदेश सरकारले यकिन तथ्यांकबिना नै २० वर्ष पुराना सम्पूर्ण सवारी साधनहरूलाई पत्रु बनाउन निर्देशन दिएको देखिन्छ । तथ्यांकबिनै पत्रु पुराना सवारीसाधनलाई पत्रु बनाउन लगाउँदा कतिपय नयाँ देखिने पुराना सवारी साधन हटाउन मुश्किल पर्ने देखिन्छ ।
कति सवारी साधन पत्रु गर्नुपर्ने र कति पत्रु भइसके भन्ने यकिन तथ्यांक नहुँदा सम्बन्धिन निकायलाई नै सडकमा गुडिरहेका सवारी साधनहरू २० वर्ष पुराना या नयाँ भन्ने यकिन गर्नै समस्या पर्छ । तर, यातायात कार्यालय र प्रदेश मन्त्रालयले नै यसको जिम्मेवारी भने ट्राफिक प्रहरीलाई दिने बताइएको छ ।
मन्त्रालय र कार्यालयसँग पनि यकिन तथ्यांक नभएको अवस्थामा ट्राफिक प्रहरीले नै प्रत्येक सवारी साधनको ब्लु बुक चेक गरेर २० वर्ष पुरानो भए नियन्त्रणमा लिएर जफत गरी पत्रुमा पठाउन सकिने उनले बताए । तर, मन्त्रालयले त्यस्ता सवारी साधनहरू पत्रु गर्ने गरी ३५ दिने सूचना निकालेपछि केही व्यावसायीहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । पाटन उच्च अदालतले पनि मन्त्रालयको पक्षमै उक्त सूचना कार्यान्वयन रोक्नुनपर्ने गरी आदेश जारी गरेको थियो ।
प्रतिक्रिया