वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यावहारको विरोधमा विद्यार्थीहरूको प्रदर्शन
काठमाडाैं, माघ ३ ।
जिल्ला अदालत काठमाडौं परिसरमा बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यावहारको विरोधमा नेपाल ल क्याम्पसका कानूनका विद्यार्थीहरूले आज बिहीबार प्रदर्शन गरेका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर बाहिरिने क्रममा त्रिपाठीमाथि भएको दुर्व्यावहारको विरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले प्लेकार्डसहित ‘कानून व्यावसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु पेशागत धर्म हो’, ‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायालय चाहिन्छ’, ‘अदालतमाथिको यो आक्रमण असह्य छ’ जस्ता नाराबाजी गर्दै कानून व्यावसायीमाथि हुने आक्रमणको विरोध जनाएका थिए ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितहरूको तर्फबाट अदालतमा बहस गरेका थिए । लामिछानेको नाम जोडिएको सहकारी प्रकरणमा पीडितहरूको पक्षमा बहस गरेर फर्किने क्रममा अदालत परिसरमै उनलाई एक समूहले लछार-पछार गरेको थियो ।
यस प्रकरणमा दुर्व्यावहार गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्रिपाठीले दुर्व्यावहारमा संलग्नविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा किटानी जाहेरीसमेत दिएका छन् ।
प्रतिक्रिया