इरानकाे सर्वाेच्च अदालतमा गाेली हानेर दुई न्यायाधीशकाे हत्या, आक्रमणकारीद्वारा आत्महत्या

एजेन्सी, माघ ५ ।
तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएकाे गोलीकाण्डमा परी दुई जना न्यायाधीशको मृत्यु भएको छ ।
“सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निसाना बनाइएको उक्त आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरेको विज्ञप्तिमा जनाइएको छ ।
सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्यु र अर्का एक न्यायाधीश घाइते भएका जनाएको छ ।
मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेका जनाएको छ । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासुसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दा हेर्न गरेको पनि जनाइएको छ ।
उनीहरूको हत्याको कारण तत्काल स्पष्ट भएको छैन । मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा उनीहरूको संलग्नता नरहेको उल्लेख गरेको छ । मिजानकाअनुसार, घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी अर्थ मन्त्रालयकाअनुसार, ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गको निरीक्षण गरेको’ भनी प्रतिबन्ध लगाएको थियो । इरानले त्यो आरोपको खण्डन गरेको थियो ।
मिजानकाअनुसार, ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्त्वपूर्ण पद सम्हालिसकेका थिए । यसअघि, सन् १९९८ मा आक्रमणकारीले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।
इरानमा न्यायाधीशलक्षित आक्रमण बिरलै मात्र घट्ने घटना हो । तर, पछिल्ला वर्षहरूमा उच्चपदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डका घटनाहरू भएका छन् ।
गएको अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।
सन् २०२३ को अप्रिलमा उत्तरी प्रान्त मजन्दरानको एक बैंकमा अब्बास अली सुलेमानी नाम गरेका शक्तिशाली धर्मगुरुको गोली हानी हत्या गरिएको थियो ।
सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई बन्दुकधारीहरूले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए । उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्डसमेत दिइएको थियो ।
प्रतिक्रिया