‘खुल्ला आकाश’ ९९.६ मेगाहर्जले जुम्लामा परीक्षण प्रसारण सुरु
जुम्ला, जेठ ६ ।
जुम्ला जिल्ला चन्दननाथ नगरपालिका–६ विजयनगरमा सामुदायिक रेडियो ‘खुला आकाश’ ९९.६ मेगाहर्जले आफ्नो परीक्षण प्रसारण सुरु गरेको छ ।
उक्त रेडियोले बैशाख २७ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको स्टेसन म्यानेजर रवि नेपालीले जानकारी दिएका छन् ।
जुम्लामा हालसम्म स्थापित तीन सामुदायिक रेडियो एफएमले सामुदायिक रेडियोको उद्देश्य पूरा गर्न नसकेको र समग्र नागरिकमा सञ्चारको पहुँच नभएकोले यो रेडियो स्थापना गरिएको स्टेसन म्यानेजर नेपालीले बताए ।
उनले भने हामी कर्णाली क्षेत्रको सञ्चार विकास गर्नुका साथै यसलाई जनमुखी बनाउँछौं र यसको प्रभावकारितामा जोड दिन्छौं ।
यसको स्थापना तत्कालीन जिल्ला विकास समिति जुम्ला अन्तर्गत सांसद् डिल्लीप्रसाद काफ्लेको संसद् विकास कोषबाट रु.४२ लाख बजेट र गैरसरकारी संस्था सुशासन सङ्घको अगुवाइमा रेडियो ‘खुला आकाश’को स्थापना गरिएको थियो ।
रेडियो खुला आकाशसहित अब जुम्लामा कर्णाली एफएम, नारी आवाज र सिञ्जा एफएमगरी चार सामुदायिक रेडियो सञ्चालनमा आउने भएका छन् । खुला आकाश २० दिनसम्म परीक्षण प्रसारण गर्ने र त्यसपछि नियमित प्रसारण सुरु गर्ने जनाइएको छ ।
प्रतिक्रिया