सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडानको तयारी

काठमाडौं, माघ २० ।
नेपाल सरकारले जेठको सुरुवातसम्म सरकारी र कूटनीतिक सवारीसाधनमा अत्याधुनिक नम्बर प्लेट अर्थात इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा उल्लेख गरिएअनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक रूपनारायण भट्टराईले नम्बर प्लेटका बारेमा अहिले कानूनमा रहेका नम्बर प्लेटबारे ब्यवस्था संशोधन गर्नासाथ इम्बोस्ड प्लेट वितरण थालिने बताए । उनले सुरुवातमा सरकारी संस्थान र कूटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरूलाई इम्बोस्ड प्रविधिमा रूपान्तरण गरिने बताए ।
‘अहिलेको नियमावलीमा विभिन्न किसिमका सवारीमा फरक–फरक रंगका प्लेटहरू हुने ब्यवस्था छ । हामीले इम्बोस्ड प्लेट रहने गरी यसलाई परिमार्जन गर्न मन्त्रिपरिषद् पठाउँदैछौं’, भट्टराईले भने, ‘मन्त्रिपरिषद्बाट नियमावली संशोधनको निर्णय हुनासाथ यसै महिनाको अन्त्यसम्म इम्बोस्ड लागू हुनेछ ।’ नियमावली संशोधन प्रक्रियामा केही ढिलाई भए जेठसम्म पुग्न सक्ने अनुमान विभागको छ ।
उक्त नम्बर प्लेट जडान गर्ने जिम्मा भने बंगलादेशी र अमेरिकी संयुक्त कम्पनी डेकाटुर टाईगर आईटीले इम्बोस्ड नम्बर प्लेट छाप्नका लागि मेशिन र उपकरण ल्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
यो नियम लागू भएपछि सवारी साधनको चोरी भए वा हराएको खण्डमा पहिचान गर्न पनि धेरै सहज हुने यातायात विभागको दाबी रहेको छ । विभागले सवारी साधन हराउने र चोरी हुने घटना बढ्दै गएपछि ती समस्या समाधानका लागि पनि सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट राख्ने योजना अघि सारिएको हो ।
कस्तो हुन्छ इम्बोस्ट नम्बर प्लेट ?
इम्बोस्ट नम्बर प्लेट सवारी साधनका लागि बनाइने अत्याधुनिक नम्बर प्लेट हो । धातुलाई इम्बोस्ट अर्थात थिचेर बन्ने भएकोले यसको नाम नै इम्बोस्ट रहेको हो । यो धातुको प्लेटमा हुन्छ । विद्युतीय र यान्त्रिक माध्यमद्वारा अक्षर र अंक उठ्ने गरी लेखिन्छ । यसको अंक तथा अक्षर फेर्न तथा उप्काउन सकिँदैन ।
सरकारले यसको डिजाइन गरेको हुन्छ । प्लेटमै होलोग्राम पनि हुन्छ । उत्पादन तथा वितरण सरकार स्वयं वा उसले जिम्मा दिएको कम्पनीले गर्छ । नम्बर प्लेटकै एक छेउमा कम्प्यूटर रिडेबल अक्षर हुन्छ । त्यसमा उत्पादक कम्पनी, मिति र संकेत नम्बरलगायत अरू चिन्हसमेत राख्न सकिन्छ ।
नेपालमा पाँच वर्षभित्र सबै सवारीमा इम्बोस्ड प्लेट जोड्ने लक्ष्य
वितरण सुरु भएको करिब पाँच वर्षभित्र नेपालमा सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य सरकारले लिएको छ । प्लेट छाप्ने यन्त्र, उपकरण, प्रविधि र सामाग्री सबै नेपालमै ल्याएर काम गरिने हुनाले आपूर्तिमा समस्या नहुने विश्वास गरिएको छ । चरणबद्ध रूपमा २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिने छ । अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् ।
अब छ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागू गर्ने तयारी गरेको छ । दुई वटा कमर्सियल, डिप्लोमेटिक, भीआईपी, सरकारी र सार्वजनिक गरी छ किसिमका प्लेट मात्रै प्रयोगमा आउने छन् । सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोस्ड नम्बर प्लेट सवारीको अगाडि र पछाडि राखिने छ । प्लेटभित्र सवारी र सवारीधनीका सबै विवरणहरू राखिनेछ । जसलाई प्रहरीसँग हुने हाते मेशिन र विभिन्न ठाउँमा राखिने ठूला मेशिनहरूले रिड गर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।
यो लागू भए के फाइदा हुन्छ ?
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती पनि हुनेछ । नम्बर प्लेट एक पटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टिकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।
जुनसुकै सवारीका सबै विवरणलाई मेशिनले रिड गरेर कम्प्यूटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेत्रमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँमा पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सकिन्छ ।
यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरू हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेक जाँच गर्न सक्छ । स्मार्ट ब्लु–बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेक जाँचमा पनि सहज हुनेछ ।
यस्तै शहरका विभिन्न भाग र राजमार्गहरूमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेशिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्यूटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेत्रमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँमा पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा पनि टेवा पुग्नेछ ।
सवारी धनीलाई केही थप भार पर्ने
इम्बोस्ड नम्बर प्लेटले भने सवारी धनीलाई केही थप भार भने पर्नेछ । एउटा सवारीमा इम्बोस्ड नम्बर प्लेट परिवर्तन गर्न दुई हजारदेखि तीन हजार रुपैयाँ राजश्व लिने तयारी गरिएको छ । कति लिने भनेर औपचारिक निर्णय भने गरिएको छैन । इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।
अनिवार्य रूपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ । यसबाट वार्षिक रूपमा सरकारी कर नतिर्ने समस्या पनि हटेर जानेछ ।
प्रतिक्रिया