भोलिबाट साझा यातायातको २० वटा बस स्वयम्भुदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्ने
काठमाडौं, जेठ ९ ।
साझा यातायातले भोलिबाट भक्तपुरको सूर्यविनायकसम्म आफ्नो २० वटा बसले भक्तपुरका जनतालाई पनि बस सेवा दिने भएको छ । साझाका स्वयम्भुदेखि कोटेश्वरको रूटलाई नै भक्तपुरसम्म विस्तार गर्ने जनाएको छ ।
अब स्वयम्भुबाट सीतापाइला – कलंकी – रविभवन – सोल्टीमोड – कालीमाटी – टेक –त्रिपुरेश्वर – रत्नपार्क – सहीदगेट – माइतिघर – बबरमहल – नयाँबानेश्वर – मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने साझा यातायातका प्रमुख कार्याकारी अधिकृत महेन्द्रराज पाण्डले जानकारी दिएका छन् ।
कोटेश्वरबाट जडिबुटी – लोकन्थली – कैशलटार – गठ्ठाघर – ठिमी – सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस सेवा सञ्चालन हुनेछ । सूर्यविनायकबाट सोही रूट हुँदै फर्किने बस माइतिघरबाट – सिंहदरबार – पुतलीसडक – कमलादी – घण्टाघर – पुरानो बसपार्क – सहीद गेट – त्रिपुरेश्वर – कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।
यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रूट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।
व्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरू अत्ताल्लिएर विभाग समक्ष साझाको रूट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए । साझाले भने अझै पनि विभागले पुरानो बाटोमा आफूलाई इजाजत दिइनेमा आशावादी रहेको बताएको छ ।
प्रतिक्रिया