दोस्रो चरणको स्थानीय निर्वाचनमा ४५ हजार सेना परिचालित हुने

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलवार १२:२९


काठमाडौं, जेठ ९
आगामी ३१ जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ४५ हजार नेपाली सैनिक परिचालन हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृति दिएपछि सेनाले केही दिनमै फौज परिचालन गर्ने तयारी गरेको छ । ‘पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणमा पनि नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्छ, हामी चाँडै परिचालन गर्ने गरी अन्तिम गृहकार्य गरिरहेका छौँ,’ सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले भने, ‘दोस्रो चरणको निर्वाचनमा करिब ४५ हजार नेपाली सेना परिचालित हुन्छन् ।’

राष्ट्रपति भण्डारीलाई दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद् कार्यालयले ४ जेठमा पत्र पठाएको थियो । राष्ट्रिय सुरक्षा परिषद्ले भने २ जेठमा सेना परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र सिफारिसअनुसार सोमबार सेना परिचालनको स्वीकृति दिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ । गत ३१ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि ३१ हजार सेना परिचालन गरिएको थियो । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् । निर्वाचन सहयोगका लागि म्यादी प्रहरी पनि खटिनेछन् भने सूचना संकलन र विश्लेषणका लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि सुरक्षा निकायसँगै खटिनेछन् ।

प्रदेश नम्बर १ का सबै स्थान र प्रदेश नम्बर २ का सप्तरी, सिरहाका लागि पूर्वी पृतना इटहरीमातहतका फौज परिचालन हुनेछन् । प्रदेश नम्बर २ का बाँकी स्थानमा सेनाको मध्यपृतना हेटौँडामातहतका फौज खटिनेछन् । प्रदेश नम्बर ५ का लागि पश्चिम पृतना पोखरा र मध्यपश्चिम पृतना सुर्खेतबाट फौज खटिनेछन् । प्रदेश नम्बर ७ का लागि सुदूरपश्चिम पृतना दिपायलअन्तर्गतका फौज खटाउने सेनाको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिक  मा छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....