भक्तपुरमा आजबाट साझा बस गुड्दै

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १२:०६


भक्तपुर, जेठ १० ।
भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले आजबाट भक्तपुरमा साझा बस सञ्चालन गरेको छ ।

भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म आज बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।

आज बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस सञ्चालनमा आएको र प्रत्येक दिन बिहान ६ः३० देखि राति ९ बजेसम्म बस चल्नेछ । साझा यातायातले काठमाडौंको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको हो ।

सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताएका छन् ।

स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उनले बताए । साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटो गरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरे पनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताए ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागे पनि हाललाई त्यो रुट भने पाउन सकेन । साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरे पनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उनले बताए ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....