निर्वाचन सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा नेपाली सेना परिचालन
इनरुवा, जेठ ११ ।
सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।
आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ खटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो । यसैगरी, दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल पनि गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा निर्वाचनको विषयमा थालेको तयारी, चुनावी वातावरण, जिल्लाको सुरक्षा अवस्था लगायतका बारेमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
प्रतिक्रिया