बस दुर्घटनामा घाइते यात्रीहरू भेट्न भारतीय राज्यमन्त्री काठमाडाैंमा
काठमाडाैं, भाद्र ८ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् ।
शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी हुन् ।
उनलाई त्रिभुवन विमानस्थलमा नेपालस्थित भारतीय राजदूताबास नवीन श्रीवास्तवलगायतका उच्च अधिकारीले स्वागत गरेका थिए । उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाँदैछिन् ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शवको परीक्षण कार्य जारी रहेको छ ।
दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकाेप्टरमार्फत् काठमाडाैं ल्याइएको थियो । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार चलिरहेकाे छ ।
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई काठमाडौंस्थित भारतीय दूताबासको समन्वयमा गोरखा निवास गेष्ट हाउसमा राखिएको छ ।
प्रतिक्रिया