पहिरोले घर पुरिँदा आमा छोरासहित छ जनाको मृत्यु, एक घाइते

काठमाडाैं, भाद्र ९ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा गएराति पहिरोले घर पुरिँदा छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र १८ महिनाका आयुष श्रेष्ठसहित अरू चार ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चण्डिका र आयुष भने आमा छोरा हुन् र चार जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
पहिरोमा परेर ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
गएराति आएको पहिरोले तीन घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले जानकारी दिइन् । स्थानीय बासिन्दाले राति नै उद्धारको प्रयास गरेका थिए । तर, पानी परेकाले आमा छोरालाई जोगाउन सकेनन् ।
राति नै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाउँदा आमा छोरा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।
पहिरोले अँधेरी खोलको पक्की पुल पनि बगाएको छ । त्यस्तै, बाढीका कारण पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट-मन्थली सडक अवरुद्ध भएको छ ।
प्रतिक्रिया