पतिसँगको झगडामा विष खुवाएर अस्मिताले गरिन् छोरीहरूको हत्या
काठमाडाैं, भाद्र १९ ।
मोरङको सुन्दरहरैँचामा दुई नाबालिका छोरीको ‘हत्या’ गरी बेपत्ता भएकी महिला पक्राउ परेकी छन् ।
धनकुटा पाख्रिबास स्थायी घर भई मोरङको सुन्दरहरैँचा नगरपालिका-७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।
भाद्र १५ गते साँझ अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिङ्का) को शव घरनजिकै केराघारीमा फेला परेको थियो ।
पतिसँगको घर झगडामा विष खुवाएर अस्मिताले नै छोरीहरूको हत्या गरेको आशंका प्रहरी र स्थानीयले गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अस्मिताले नै छोरीहरूको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनले २ वटी छोरीहरू साथमा लिएर हिँडेकी थिइन् ।
उनले बयानमा सोही दिन बेलुकी छोरीहरूलाई विष खुवाएर केरा बगानमा राखी थोरै बाँकी रहेको विषादी आफूले पनि खाएर ‘त्यो ठाउँबाट म हिँडेकी हुँ’ भनी बताएकी छन् ।
बारम्बार श्रीमान् श्रीमतीबीच घरायसी कुरामा वादविवाद हुने गरेको भन्ने खुल्न आएको उपरीक्षक बस्नेतले बताए ।
उनलाई मोरङ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया