गुडिरहेको नेपाली सेनाको ट्रकमा एक्कासी आगलागी भएपछि…

काठमाडाैं, भाद्र २० ।
मकवानपुरमा गुडिरहेको अवस्थामा नेपाली सेनाको ट्रकमा एक्कासी आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-४ कुर्सी मोडमा गुडिरहेको अवस्थामा सेनाको ट्रकमा आगलागी भएको हो ।
सिमभञ्याङतर्फ जाने क्रममा बा. १ ग ३४३६ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
थाहा नगरपालिका-६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रकमा आगलागी भएको उनले बताए । ट्रकमा सवार सेनाहरू तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ जाँदै गरेका थिए । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
ट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया