सुत्केरीकाे मृत्यु भएपछि स्थानीयद्वारा बर्थिङ सेन्टरमा ताेडफाेड, राजमार्ग जाम

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार १८:०५


काठमाडाैं, भाद्र २१ ।
रौतहटको गरुडा नगरपालिकामा रहेको एक बर्थिङ सेन्टरमा आज शुक्रबार तोडफोड गरेको छ । सुत्केरी गराउन गएकी रमिता देवीको मृत्यु भएपछि स्थानीयले बर्थिङ सेन्टरमा आक्रमण गरेका हुन् । आक्रोशित स्थानीयले सदरमुकामलाई जोड्ने राजमार्ग पनि जाम गरेका छन् ।

गरुडा नगरपालिका-५ शिवनगरकी २५ वर्षीया रमिता देवी सुत्केरी गराउन बर्थिङ सेन्टरमा पुगेकी थिइन् । सुत्केरी गरिसकेपछि अत्याधिक रक्तश्राव भएको बताइएको छ । रक्तश्राव नियन्त्रणमा नआएपछि बर्थिङ सेन्टरले उनलाई वीरगञ्ज रेफर गर्यो । तर, इण्डाे-नेपाल अस्पतालमा पुग्दा अस्पतालले रमितालाई मृत घोषित गरिदियो ।

स्थानीयले बर्थिङ सेन्टरका कर्मचारीहरूको लापरबाहीको आरोप लगाउँदै बर्थिङ सेन्टरमा तोडफोड गरेका हुन् । घटनामा मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै शवलाई राजमार्गमा राखेर प्रदर्शन गरेका थिए ।

करिब ३ घण्टा लामो चक्का जाम गरेका स्थानीयले नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घर अगाडि पनि शव राख्न खोजे तर, प्रहरीले हस्तक्षेप गर्यो । घटनामा वडाध्यक्ष राम विनोद साहको निजी गाडीमाथि पनि तोडफोड भएको छ । यद्यपि सुत्केरीको मृत्यु भए पनि जन्मेको बच्चा सुरक्षित रहेको बताइएको छ ।

गत भाद्र ३ गते पनि सोही बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी रमेशकुमार सहनीकी २१ वर्षीया श्रीमती शर्मिला कुमारी सहनीको मृत्यु भएको थियो ।

त्यस घटनापछि पनि स्थानीयले बर्थिङ सेन्टरमा तोडफोड गरेका थिए । त्यस बेला मृतकका परिवार र नगरपालिकाबीच पीडितलाई २ लाख क्षतिपूर्तिको सम्झौतासहित घटनाको छानबिन गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....