अफगानिस्तान र पाकिस्तानबीच गाेलाबारी, कम्तीमा ८ जना तालिबान लडाकुकाे मृत्यु
एजेन्सी, भाद्र २४ ।
तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तान र पाकिस्तानबीच आइतबार राति अबेरसम्म गोलाबारी चलेकाे छ । पाकिस्तानी वेबसाइट जियो न्यूजले उल्लेख गरेअनुसार साे घटनामा कम्तीमा पनि ८ जना तालिबान लडाकुहरू मारिएका छन् । अरू १६ जना घाइते भएको बताइएको छ । खबरकाअनुसार खोस्त प्रान्तको सीमा क्षेत्रमा राति ९ बजेबाट गोलाबारी सुरु भएको थियो । यो चार घण्टासम्म चलेको थियो ।
मारिनेहरूमा अफगान तालिबानका दुई वरिष्ठ कमाण्डर, खलील र जान मोहम्मद रहेको सीमा सुरक्षाकर्मीहरूसँग सम्बन्धित श्राेतहरूले भनेका छन् । झडपमा कति पाकिस्तानी सैनिकको हताहत भए भन्ने जानकारी आएको छैन । यसअघि, पनि सेप्टेम्बर ४ को राति पाकिस्तान र तालिबानबीच गोली हानाहान भएको थियो ।
तालिबान सरकारले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा नयाँ चौकीहरू बनाइरहेको छ । जसका कारण दिनहुँ दुई पक्षबीच झडप हुने क्रम जारी छ । पाकिस्तान र अफगानिस्तानलाई एउटा काल्पनिक डुरन्ड रेखाले छुट्याएको छ । तर, अफगानिस्तानले यसलाई मान्यता दिँदैन । यो नै दुई देशबीच विवादको मूल विषय बनेको छ । तालिबानले डुरन्ड रेखालाई मान्यता दिने अपेक्षा पाकिस्तानले गरेको थियो । तर त्यसो भने हुन सकेन ।
प्रतिक्रिया