भाेटेकाेशीमा खसेकाे बाेलेराेमा रहेका एक महिला र एक पुरुष बेपत्ता
काठमाडाैं, भाद्र २९ ।
सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोशी नदीमा शुक्रबार खसेको बोलेरो गाडीमा सवार चालकसहित दुई जना अझै फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार शुक्रबार बा. २० च २१८५ नम्बरको बोलेरो भोटेकोशीमा खसेको अवस्थामा भेटिएको थियो ।
शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त बोलेरो नदीबाट निकालेको थियो । तर त्यसमा कोही पनि मानिस थिएनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईले त्यस गाडीमा चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र यात्रु बाह्रबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको आफन्तबाट जानकारी पाइएको बताए ।
‘अहिले बिहानसम्म उनीहरू फेला परेका छैनन्, खोजी कार्य जारी रहेकाे छ’, आज शनिबार बिहान उनले भने ।
खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताएका छन् ।
स्थानीय र आफन्तले बताएअनुसार उक्त बोलेरो बिहीबार बेलुका नै भोटेकोशीमा खसेको अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया