इन्द्रध्वजासहितकाे यःसिँ अर्थात् लिङ्गाे ठड्याएसँगै विधिवत् रूपमा इन्द्रजात्रा सुरु

प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार १२:३५


काठमाडाैं, भाद्र ३० ।
काठमाडौंकाे हनुमानढोका दरबार अगाडि इन्द्रध्वजासहितको यःसिँ अर्थात् लिङ्गो ठड्याएसँगै काठमाडौंकै ठूलो जात्रामध्ये एक इन्द्रजात्रा आज आइतबारबाट विधिवत् रूपमा सुरु भएको छ । इन्द्रजात्राका अवसरमा आइतबार बिहान शुभ साइत पारेर मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो ठड्याइएको हो ।

३२ फिट अग्लो लिङ्गो ठड्याएपछि राजधानीमा ८ दिने जात्रा पर्व सुरु हुन्छ । यो काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँयाः पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडाैंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्राकाे रूपमा पनि लिइन्छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिँगो (ध्वजा) स्थापना हो । १२ औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्वः द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । सनातन धर्मावालम्बीहरूका प्रमुख र प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिँगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

आफ्नी आमालाई बसुन्धराको ब्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको किम्वदन्ती छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै रहेकाे छ । पुराणअनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थालेको किम्वदन्ती रही आएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....