जिब्राे छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरी पुनः भक्तपुरमा

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार १०:०७


काठमाडाैं, असाेज ३ ।
आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येँयाः पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुरमा नै फर्किएको छ । गएराति ८ बजे मध्यपुरठिमी-५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरठिमी दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इञ्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपतिनाथ मन्दिर यात्रा गरेका थिए ।

श्रेष्ठले जिब्रो छेडाएर ठिमीबाट यात्रा गरी निगू पुखू, लाय्कू हुँदै क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोठिमी, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपतिनाथ दर्शनका लागि पुगेका थिए ।

राति करिब १२:३० बजेको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिमा जात्राको स्वागत गर्दै पशुपति क्षेत्र विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाएका श्रेष्ठको जिब्रोमा परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल राखिदिएको जात्रामा सहभागी पत्रकार रत्नकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठले जिब्रो छेडेर १७ वटा दीप भएको चन्द्राकारको ‘भ्वयः’ बोकेर पैदल यात्रा गरी पशुपति पुगेका थिए ।

पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोठिमीस्थित तिनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखा बजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगू पुखू, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....