उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडाैं, असाेज १२ ।
काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
उनकाअनुसार विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । हालसम्म बाढी पहिरो तथा डुबानमा परेका ७ सय २८ जनालाई उद्धार गरिएको छ ।
यता, गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।
उनले आज शनिबार बिहानको बैठकमा मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । उनले वर्षाका कारण काठमाडौंका सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया